खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी

कास्की, २३ वैशाख । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोज्न थालेका छन् ।

पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको सिरान हुडिकोटसम्म पुुर्याइएको पानी यहाँका ११३ घरधुरीले उपयोग गरिरहेकोमा खडेरीका कारण पानीको स्रोत कम हुन थालेको स्थानीय युवा परमेश्वर पौडेलले जानकारी दिनुुभयो ।

उहाँका अनुसार उक्त योजनाअन्तर्गत हाल रहेको पानीको स्रोत खडेरीका कारण सुक्दै गएपछि दैनिक खानेपानी आपूर्तिमा समस्या आएका कारण वैकल्पिक स्रोतको खोजी गरिएको हो । “वैकल्पिक स्रोत खोज्ने क्रममा खुर्वादीको हालको खानेपानीको मूल रहेको स्थानबाट नजिकै अर्को स्थानमा पानीको स्रोत फेला परेको छ”, उहाँले भन्नुभयो, “उक्त स्थानको पानी समेत मुल ट्याङ्कीमा जम्मा गरी स्रोत बढाउन लागेका हौँ ।”

स्थानीयवासीको जनश्रमदानमा वैकल्पिक पानीको स्रोत खोजिएको पौडेलले जानकारी दिनुुभयो । लामो समयको खडेरीले ग्रामीण क्षेत्रका अधिकांश स्थानका परम्परागत पानीका मूल तथा कुवा सुक्दै गएको स्थानीयवासी बताउँछन् ।

ठाउँठाउँमा लागेको डढेलोका कारण कतिपय स्थानमा पानी ल्याइएका पाइप डढ्दा पनि समस्या बढ्दै गएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *