सवारी लाइसेन्समा देखिएका समस्या तत्काल समाधान गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमति पत्रको वर्तमान अवस्थामा देखिएका समस्याहरूको तत्काल समाधान गर्न निर्देशन दिनुभएकाे छ ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सवारी चालक अनुमति पत्रको वर्तमान अवस्था, विभागको सिष्टममा देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरी यस्ताे निर्देशन दिनुभएकाे हाे ।
छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयाे ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ । खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी वितरण हुनुपर्थ्याे, त्यस्तो भएको छैन । नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुस् ।”
छलफलमा उहाँले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिनुभयाे ।