प्रधानमन्त्री दाहालले साेमबार चाैथाे पटक विश्वासको मत लिंदै

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते साेमबार विश्वासको मत लिनुहुने भएकाे छ ।

संविधानको धारा १०० को उपधारा (२) अनुसार प्रधानमन्त्री दाहालले चौथौ पटक विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयमा पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ ।

यस विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसक्नुभएकाे छ ।

जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२ं) बमोजिमको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।