संसद बैठक आजपनि बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक आज बिहानकाे ११ बजे संसद भवन नयाँ बानेश्वरमा  बोलाइएको छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध निरन्तर चलिरहेकाे छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको हाे ।

प्रतिनिधिसभाकाे हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरुबीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो । हिजोको बैठकमा कांग्रेसको नारावाजीबीच सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभएकाे थियाे । तर, कांग्रेस सांसदहरुको अवरोधले त्यो सम्भव भएन ।

गृहमन्त्रीले संसद बैठकमा आफूमाथि लागेका आरोपबारे जवाफ दिन पाउनुपर्ने माग गर्दै आए पनि त्यसमा कांग्रेसले सहमत जनाएकाे छैन ।

आजको संसद बैठककाे कार्यसूचीमा ६ वटा विषय समावेश गरिएकाे छ । पहिलोमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यसपछि सभामुखले नै प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ ।

तेस्रो कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बाेधनको प्रति टेबुल गर्नेुहुनेछ। त्यसैगरी सभामुखले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।