ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री
काठमाडाैं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा उहाँले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयोे ।
“यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु । सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन अवस्थामा छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हाल परियोजनाको उत्पादनतर्फ ७४ दशमलव ०९ प्रतिशत र प्रसारणलाइनतर्फ ३७ दशमलव ९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ ।”
आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो । “यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिलगायत आवश्यक सहयोग र सहजीकरण गर्दै निर्धारित समयमै आयोजनाको बाँकी काम सम्पन्न गर्न म सम्बन्धित पक्षलाई निर्देशन दिन्छुु” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले अघिल्लो महिना आफूले काठमाडौँ–नौबिसे सुरुङमार्ग र बहुद्देश्यीय मरिन डाइनर्सन परियोजनाको ‘ब्रेक थ्रु’ गरेको स्मरण गर्दै उहाँले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट श्रव्यदृश्यका माध्यमबाट लिइरहेको जानकारी दिनुभयो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताउनुभयो ।
“आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत सहभागी हुने गरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त आयोजनामा बाँध र विद्युत्गृह छुट्टाछुट्टै प्रवद्र्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले यस वर्ष सुक्खायामको मागलाई पूर्ति गर्न बूढीगण्डकी, दूधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत् आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण सुरू गर्ने, वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माण गरिने, माथिल्लो अरूण, जगदुल्ला, तामाकोशी पाँचाैं, मोदी ए र चैनपुर–सेती जलविद्युत् आयोजनाको निर्माण कार्य सुरू गर्ने, सुनकोशी–तेस्रो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।
आयोजनाले सन् २०२५ को मार्चदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनामा दुई सय २५ मेगावाट क्षमताको चार वटा टर्वाइनबाट नौ सय मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको मकालु गाउँपालिकाको वडा नं ३ र ५ रहेको बाँधबाट ११ दशमलव आठ किलोमिटरको सुरुङबाट चिचिला गाउँपालिका–३ पुकुवामा रहेको विद्युत्गृहमा पानी झारेर विद्युत् उत्पादन गरिनेछ ।