प्रतिनिधिसभामा उठ्याे किसानलाई मलखाददेखि तटबन्ध निर्माणसम्मका कुरा

काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सांसद अन्जनी श्रेष्ठले हुरीले चितवनका जनताले लगाएका मकै, केराखेतीलाई गम्भीर असर पारेको जनाउँदै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग आग्रह गर्नुभयो । सांसद अमेरशकुमार सिंहले वर्षात् हुनुभन्दा पहिला नै सर्लाहीका नदीमा तत्काल तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बागमती नदीमा तत्काल तटबन्ध निर्माण गरियोस् । नदीले तटीय चार–पाँचवटा गाउँको जनजीवन जोखिममा छ ।”

सांसद अमृतलाल राजवंशी र सांसद जुलीकुमारी महतो महासेठले किसानहरूलाई खेतीको याममा मल उपलब्ध गराउन आग्रह गर्नुभयो । यसैगरी सांसद उर्मिला थेबेले ताप्लेजुङका हिमाली जिल्लामा प्राविधिक शिक्षाको सुधारमा ध्यान दिन, सांसद गङ्गाप्रसाद यादवले अत्यधिक गर्मीका कारण तराई/मधेशको जनजीवन प्रभावित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य संस्था सुधारका लागि राज्यको थप प्रतिबद्धता आवश्यक रहेको स्वास्थ्यमा चार प्रतिशत बजेटले अपुग भएको, तीसौँ वर्षको स्वास्थ्य दरबन्दीको जनशक्तिले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।