मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त, १४ सदस्यीय मन्त्रिपरिषद् गठन

धनुषा, २५ जेठ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएकाे हाे ।

मुख्यमन्त्री नियुक्त हुनुभएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त गर्नुभएकाे छ ।

त्यस्तै माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा युवराज भट्टराईलाई नियुक्त गर्नुभएकाे छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री हुनुभएकाे छ ।

गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाल समाजवादी पार्टीका बिमला अंशारी तरुनम र नागरिक उन्मुक्ति पार्टीका उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बन्नुभएकाे छ ।

मधेश प्रदेशको मन्त्रिपरिषद्‌मा तीन जना राज्यमन्त्री हुनुभएकाे छ । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतका रञ्जु खंगले विना विभागीय राज्यमन्त्रीको शपथ लिनुभएका छन् ।