बेरुजुको बेथितिमा महालेखाले गल्ती औँल्याउँदा गालीगलौच गर्दै उपाध्यक्ष सामाजिक सञ्जालमा
काठमाडौं । दैलेख जिल्लाको गुँरास गाउँपालिकामा बेथिति मौलाउँदै जान थालेपछि खैलाबैला सुरु भएको छ । ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नाराको समेत धज्जी उडाउँदै उक्त गाउँपालिकामा बेथितिको श्रृंखला नै चल्न थालेपछि जनताहरु समेत जनप्रतिनिधिसँग रुष्ट बन्न थालेका छन् । ७४ को निर्वाचनमा उक्त गाउँपालिका नेपाली काङ्ग्रेसले जितेको थियो ।
कांग्रेसको नेतृत्वमा सो पालिकामा पाच बर्षमा झन्डै ४५ करोड बेरुजु आएको थियो। त्यतिबेला त्यहि बेरुजुलाई एजेन्डा बनाएर नेकपा .(एमाले) ले दुई वर्ष अघि भएको निर्वाचनमा ८ मध्य छ वटा वडा अध्यक्ष उपाध्यक्ष लगायत दुईतिहाइ गाउसभा सदस्य निर्वाचित गर्यो ।
काङ्ग्रेस भन्दा फरक गर्ने भन्दै निर्वाचित भएका जनप्रतिनिधि अहिले भर्खरै सार्वजनिक भएको महालेखा परिक्षणको प्रतिबेदनपछि भने हैरानीमा परेका छन् । निर्वाचित भएको दुई वर्ष पुगेको र महालेखाले एक वर्ष अर्थात ७९–८० को लेखा परिक्षण गरेको छ । हो, त्यतिबेला बेरुजुलाई एजेन्डा बनाउने एमालेकै जनप्रतिनिधिका थाप्लोमा एकै वर्षमा झन्डै ५ करोड बराबरको बेरुजु बढेको छ भने अहिले उक्त पालिकाको बेरुजु ५१ करोड पुगेको छ । गत वर्षको बेरुजु ६२ लाख असुल नै गर्नु पर्ने पनि छदैँछ । त्यति मात्रै होइन अध्यक्ष र उपाध्यक्षले नियम विपरीत आफ्नो सचिवालयमा सल्लाहकार नियुक्ति गरेको, दोहोरो मासिक सवारी साधन प्रयोगको रकम बुझेको जस्ता विषयमा पनि महालेखाको प्रतिवेदनले देखाएपछि अहिले थप समस्या भएको छ ।
अझ गज्जब त के छ भने कुनै समय अन्य दललाई बेरुजुका विषयमा औँला उठाएर त्यहि एजेण्डालाई जनताले पत्याएपछि निर्वाचित भएका उपाध्यक्षले मोटरसाइकल प्रयोग गर्न महिनाको १२ हजार सँगसँगै गाडी समेत भाडामा प्रयोग गरेर जनताको करमा रजाईँ गरेको पाइएको छ । महालेखाले त्यो असुल गर्न भनेको छ । जनप्रतिनिधिले जनताले तिरेको करमा रजाईँ गरेको र बेथितिको श्रृंखला नै चलेको भन्दै कमजोरी औँल्याएकोप्रति भने जनप्रतिनिधि तुच्छ ढंगले उत्रिएर सामाजिक सञ्जालको समेत दुरुपयोग गर्दै मतदाताहरुलाई आरोप लगाउन थालेपछि जनता झन् आक्रोशित बनेका छन् ।
महालेखाले अध्यक्षको सल्लाहकार नियम विपरित नियुक्ति गरेको, तलब खुवाएको पैसा असुल गर्नु भनेको जस्ता कुरालाई लिएर स्थानीयले केही विरोध गरेपछि उपाध्यक्ष शिवाकुमारी खड्काले आफुलाई जोडेर विवाद गरेकोमा असन्तुष्टि पोख्दै त्यस्को भलो कहिल्यै नहुने कमेन्ट गर्नुभएको छ । उहाँले त्यो बेरुजु आफैँले तिर्नुपर्ने होला भन्दै अरुले विरोध गर्ने अधिकार नभएको पनि त्यहि कमेन्टमा उल्लेख गर्नुभएको छ । उहाँले त्यस्तो विरोध गर्नेलाई पञ्चकोशीले भष्म गरुन भनि तुच्छ गाली गर्नुभएको छ ।