सम्पादकको योग्यता फेर्दै काउन्सिल

काठमाडौं, ११ असार । प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखिएको भन्दै प्रक्रिया थालनी गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो ।

‘प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ । तर, सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन,’ उहाँले भन्नुभयो, ‘सोहीकारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ ।’

मङ्गलबार नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै बस्नेतले पत्रकारलाई गल्ती गर्ने छुट नभएकोतर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । मानवीय कमजोरीले कतै गल्ती भए क्षमायाचना सहित सच्याउन सधै अग्रसर हुन सुझाव समेत दिनुभयो ।

अभिमुखिकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो ।

पत्रकार पौडेलले भ्युअर्स बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नतिर कोही पनि लाग्न नहुने बताउनुभयो । पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दै अघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उहाँको सुझाव थियो ।