पहिरोले घर पुरिँदा कास्कीमा ११ जनाको मृत्यु, ४ जना घाइते

कास्की, २८ असार । कास्कीमा पहिराेले घर पुरिंदा ११ जनाको मृत्यु भएको छ ।

निरन्तरको वर्षापछि आएको पहिरोले पुरिएर कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयाे।

पोखरा महानगरपालिका १९ मा कुलबहादुर परियारको एकतले ढुँगामाटोकाे घर गएराति साढे १० बजे पहिरो खसेर पुरिदा एकै घरका ६ जनाको मृत्यु भएको हाे ।

पहिराेमा परी कुल बहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार,१५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, २५ वर्षीय अस्मित परियारक मृत्यु भएको हो । सोही ठाउँमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा आरती ओझाको घर पछाडिबाट खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

पहिराेमा परी मृत्यु हुनेमा १८ वर्षीय अस्मिता ओझा, १२ वर्षीय अनुष्का ओझा र ९ वर्षीय पुष्कर सुवेदी रहेको एसपी मोहन कुमार थापाले जानकारी दिनुभयाे । ४० वर्षीय आरतीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको छ ।

कास्कीको मादी गाउँपालिका–११ तल्लो ताप्लेमा घर पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनका छोरा ५५ वर्षका ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेकाे छ ।