वाग्मती करिडोरका पुलमुनि पानी जम्दा यात्रुलाई सास्ती

ललितपुर, ३० असार । ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माणको जिम्मा लिएको वाग्मती करिडोरको सानेपाको कालोपुल र बल्खुको पुलमुनि हरेक वर्ष पानी जम्ने भएकाले यात्रु समस्यामा परेका छन् ।

पुलमुनि वर्षात्को समयमा पानी जम्ने भएकाले कालोपुलमा सूचना टाँसिएको छ । “कृपया यो पुलमुनि वर्षात्को समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोगगरी सुरक्षित यात्रा गर्नु होला”, वाग्मती करिडोरस्थित सानेपाको कालो पुलमा उल्लेख गरिएको छ ।

आफूले हरेक वर्ष वाग्मती करिडोरस्थित कालोपुलमुनि पानी जमेकाले यात्रामा असहज महसुस गरेको मोटरसाइकल यात्री रमेश पन्तले जनाउनुभयो । उहाँले भन्नुभयो, “बल्खु पुलमुनि पनि वर्षात्को समयमा पानी जम्ने समस्या छ, सानेपाको कालोपुलमा हरेक वर्ष पानी जमेको छ, जिम्मेवारी निकायले यस्तो कुरामा ध्यान नदिएकाले हामीले दुःख पाएका छौँ ।”

त्यस्तै अर्का मोटरसाइकल यात्री पवनकुमार थापाले पनि हरेक वर्ष पुलमुनि पानी जमेकाले ट्राफिक जाम भएर आफूले समस्या भोगेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “पुलमुनि वैकल्पिक बाटो प्रयोगगरी सुरक्षित यात्रा गर्नुहोला भनेर सूचना टाँसेको छ, तर वैकल्पक यात्रा कहाँ गर्ने ?, बाटो साँगुरो भएर ट्राफिक जाम भइदिन्छ, जिम्मेवार निकायले यस्तो समस्याका समाधान चाँडै गर्नुपर्ने हो ।”

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरलाई वाग्मती सभ्ययतासँग जोडेर निर्माण कार्य अगाडि बढाए पनि महानगरपालिका–४ को धोविघाट पुलसम्म करिडोर निर्माणको सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *