गोरखा पहिरो अपडेट : घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयाे
गोरखा, १३ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएकाे हाे । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।
स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए । बेपत्ता हुनेहरुमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् ।
शनिबार राति तीन बजे पहिरो जाँदा जीतबहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।