देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छः प्रधानमन्त्री ओली

ललितपुर, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद’ गर्नुहुँदै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारीका लागि प्रतिबन्ध लगाइएको स्मरण गराउनुहुँदै सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताउनुभयो ।
उहाँले भन्नुभयाे “देशको क्षमताभन्दा बढी बाघको सङ्ख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघको सङ्ख्यामात्रै वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि सचेत रहनुपर्नेछ । यस्तो अवस्था आउन दिनु हुँदैन” ।
“प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु छन्, उनीहरूका लागि सहज बासस्थान चाहिन्छ, उनीहरूसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन । मानिसले सचेत भएर द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ ।”
कार्यक्रममा लिटिल एञ्जलसहित विभिन्न पाँच विद्यालयका बालबालिकाले राखेको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताउनुभयो । उहाँले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएकाले अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
विसं २०७३ मा आफू प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको सूर्यविनायकस्थित प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानो भएकाले अन्यत्र पनि चिडियाखाना स्थापनागरी वर्गीकरणका आधारमा वन्यजन्तुलाई संरक्षण गर्न पहल गरिने बताउनुभयाे ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका दुर्लभ वन्यजन्तु नेपालमा पाइने भन्नुहुँदै तीनै तहका सरकार, सङ्घसंस्था र सरोकारवालाबीच संरक्षणका लागि साझेदारी र समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले बाघको संरक्षणका लागि ठूलो घाँसे मैदानका साथै वन, पानीसहितको बासस्थानको व्यवस्थापनलाई ध्यान दिइने जानकारी गराउनुभयो ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बाघ संरक्षणका लागि सदर चिडियाखानाको अहिलेको स्थान नपुग भएकाले यसका लागि पहल गर्न प्रधानमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । उहाँले कोरोनाकालमा वन्यजन्तुलाई आहारमा समस्या हुँदा महानगरबाट रकम उपलब्ध गराएको स्मरण गर्नुहुँदै वन्यजन्तु संरक्षणका सन्दर्भमा महानगर र सदर चिडियाखानाबीच अत्यन्तै महत्वपूर्ण सम्बन्ध छ भन्नुभयो । महानगर प्रमुख महर्जनले चिडियाखानामा सबैभन्दा बढी खर्च लाग्ने एउटा जनावरको खानाका लागि महानगरले वार्षिक रूपमा रकम उपलब्ध गराइरहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले संविधानमा वातावरण संरक्षण गर्ने नीति समावेश भएको र सोहीअनुसार ऐन, नियम तथा कानुन बनेको जानकारी गराउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भुपाल बरालले बाघको सङ्ख्या बढ्नु जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण भएको बताउनुभयो । बाघको बासस्थानको संरक्षण र आहारको व्यवस्थापन महत्वपूर्ण रहेको बताउनुहुँदै उहाँले मानव वन्यजन्तुबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढ्दो अवस्थामा रहेको धारणा राख्नुभयो ।
प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले विश्वमा नेपालले ओगटेको भूभागको तुलनामा बाघ, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा अग्रणी स्थानमा रहेको बताउनुभयो । कार्यक्रममा सदर चिडियाखानासँग सम्बन्धित रहेर संरक्षणका क्षेत्रमा ज्ञान हासिल गरिरहेका बालबालिकाले बाघ संरक्षणका सन्दर्भमा लघु नाटकसमेत प्रदर्शन गरेका थिए ।