सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला
भोजपुर, २८ साउन । टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् ।
गाउँपालिकाले विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएका हुन् । तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरुले अहिले घरमा ढाकाका कपडा बुन्दै आएका छन् ।
तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाकाबाट कपडा बुन्दै आएको स्थानीय शान्ता श्रेष्ठले बताउनुभयो । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उहाँले बताउनुभयो ।
“वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु”, उहाँले भन्नुभयो, “चुलोचौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चसँगै आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”
आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताउनुभयो । सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उहाँले बताउनुभयो । सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उहाँको भनाइ छ । सीपले आत्मनिर्भर बन्न सहजता थपेको उहाँले बताउनुभयो ।
ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताउनुभयो । ढाकाको हातले बुनेको चोलो रु एक हजार पाँच सय, सल रु एक हजार दुई सयमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । पाँच महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, सर्ट, कुर्थासुरुवाल, सल, खादालगायतका कपडा बुन्न सीप लिएको उहाँले बताउनुभयोे ।
स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताउनुभयो । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँको भनाइ छ । पहिलो चरणमा सीप लिन इच्छुक यहाँका १४ जना महिलालाई आधारभूत तालिम दिइएको थियो । त्यसैको निरन्तरता स्वरुप दोस्रो चरणमा पुनः उनीहरुलाई अर्को दोस्रो तहको सीप प्रदान गरेपछि उद्यममा जोडिएका हुन् ।
वडाले यहाँका महिलालाई स्वरोजगारसँगै उद्यमशील बनाउने लक्ष्यले दुई तहको तालिम प्रदान गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । तालिम लिएका महिला अहिले उद्यममा जोडिएको उहाँको भनाइ छ ।
त्यस्तै, एकल महिलालाई सातदिने तरकारीखेती तालिम, सीमान्तकृत महिलालाई पशुपालनसम्बन्धी तालिम र ३० जना महिलालाई पालिकास्तरीय बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिएको छ ।