पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु : अध्यक्ष प्रचण्ड

बाँके, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गर्नुभयो ।

“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।”

आफूलाई अध्यक्ष भइरहने रहर नभएको उहाँले दाबी गर्नुभयो । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उहाँको भनाइ छ । “अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उहाँले भन्नुभयो, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।”

पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताउनुभयो । उहाँले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनुभयो ।