हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने दिन || तीजसँगै समग्र माहोल नै पर्वमय ||
काठमाडौं । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने दिन हो । आज दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ।
माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा ब्रर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रुपमा खाइ व्रतका लागि पूर्व तयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन्।
आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृर्तीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको हो। हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ। तीजसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ।
