ऋण गरेर चलाइरहेको इन्द्रजात्राले यो बर्ष ६५ लाख पाउने ।। यो बर्षको इन्द्रजात्रामा विदेशी कोही मेयर नआउने ।।।

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि ििवगत पाँच वर्षदेखि रोकिएको रकम दिने भएको छ। इन्द्रजात्रा सञ्चालन गर्न हरेक वर्ष १३ लाख दिने निर्णय गरेको थियो। सो निर्णय २०७६ सालबाट कार्यान्वयन भएको थिएन। यो वर्ष विभिन्न निकायको दबाबका कारण हालसम्म जम्मा भएको ६५ लाख रुपियाँ दिन लागेको हो।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बुधबार हालसम्मको बक्यौतासहित ६५ लाख रुपियाँ दिने निर्णय भएको खुलासा गरेका छन् । उनले बुधवार बैठक बसेर बैठकमार्फत् सो रकम दिने निर्णय भएको जानकारी दिएको हो।

इन्द्रजात्रा व्यवस्थापन समितिले काठमाडौं महानगरपालिका र अन्य निकायले कबोल गरेको रकम उपलब्ध नगराउँदा जात्रा सञ्चालन गर्न कठिन परेको बताएका थिए । समितिका संयोजक गौतम शाक्यले रकम नआएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष समेत जानकारी गराएका थिए ।

काठमाडौं महानगरपालिका पर्यटन तथा सम्पदा समितिका संयोजक संगतले आगामी वर्षबाट नियमित रूपमा बजेट उपलब्ध गराइने स्पष्ट पारेका छन्। रकम नआउँदा समितिले हरेक वर्ष ऋण गरेर जात्रा मनाइरहेको बताएको थियो । संयोजक शाक्यले यो वर्ष ऋण नलिई जात्रा मनाउन पाउने भएकोमा खुशी व्यक्त गरेका छन्। ।

यो वर्षको इन्द्रजात्रा अवलोकन गर्न विदेशी र स्वदेशी पाहुना आउने छैनन् । सम्पदा तथा पर्यटन समितिका संयोजकले विदेशी पाहुनालाई सम्मान दिन नसकेका कारण यो वर्षबाट निमन्त्रणा नदिएको पनि बताएका छन् । जात्रा अवलोकनको लागि उपत्यकाका स्थानीय तहका मेयर र उपमेयरलाई मात्र बोलाउने भएको छ।
तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा २०७६ सालबाट विदेशी पाहुनालाई निम्तो दिन थालिएको थियो । समितिका सदस्यसचिव एवं काठमाडौं महानगरपालिका सम्पदा विभाग प्रमुख कुमारी राईले यो वर्ष कुनै पनि पाहुनालाई नबोलाउने निर्णय भएको जानकारी दिएकी छन्। जात्रा व्यवस्थापन विषयमा चटारो भएको अवस्थामा पाहुना बोलाउन समस्या हुने राईको भनाई छ।

अघिल्लो वर्ष जात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका २० वटा नगरबाट र दक्षिण एसियाली मुलुकहरू (सार्क राष्ट्र)बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरूलाई निमन्त्रणा गरिएको थियो । प्रमुखहरूका साथमा ४ जना अधिकारीहरूलाई निम्ता दिइएको थियो। अघिल्लो वर्ष महानगरले भगिनी सम्बन्ध राखेका डडेल्धुराको अमरगढी, जुम्लाको चन्दननाथ, नवलपरासी, बर्दघाट सुस्तापश्चिमको रामग्राम, सिन्धुपाल्चोकको मेलम्ची र धनकुटाको पाख्रीबास नगरपालिका प्रमुखलाई निम्तो दिएको थियो। यो वर्ष कसैलाई पनि बोलाइएको छैन।

जात्राको शुरूको दिन दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिने छ। इन्द्रजात्राको मुख्य दिन असोज १ गते हो। असोज १ गते तल्लो टोलबाट जीवित देवी कुमारी, भैरब र गणेशको रथयात्रा गरिने छ। २ गते येःन्यां पुन्ही माथिल्लो टोल , ५ गते नानिचा यात्राबीचको टोल र ५ गते शनिबार राती १० बजेर ३१ मिनेटमा इन्द्रध्वज पतन गरेपछि इन्द्रजात्रा सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *