नेपालमा बंगलादेश वा श्रीलंकाको जस्तो घटना हुने स्थिति हुन नदिने ओलीको जिकिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मुलुकमा अहिले अराजकताले ठाउँ पाउने वा सत्ता समीकरण यताउता हुने कुनै सम्भावना नरहेको बताएका छन्। उनले कम्तीमा आफू प्रधानमन्त्री र नेकपा एमालेको अध्यक्ष हुँदासम्म चर्चामा ल्याइएजस्तो नेपालमा बंगलादेश वा श्रीलंकाको जस्तो घटना हुने स्थिति नहुने जिकिर गरेका छन्।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले शान्ति प्रक्रियाका काम ढुंग्याउने सम्बन्धमा शुक्रबार दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अहिले मुलुकमा भइरहेको हल्ला र चर्चाको विषयमा उक्त जिकिर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिकरुपमा घृणाद्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने भनेका छन्।

प्रधानमन्त्री ओलीले आफू पहिलेदेखि नै इमान्दाररुपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाग्न लागिपरेको र अहिले पनि थप पहल गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्दा पीडितलाई केन्द्रमा राखेर राजनीतिक सहमति जुटेको उल्लेख गरे ।

आफू सशस्त्र द्वन्द्वकालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाने अठोटमा रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बिना आशंका यस प्रक्रियामा साथ दिनुपर्ने भनाइ राखे ।

अध्यक्ष दाहालले हालै प्रतिनिधिसभामा असंसदीय, असभ्य र लाञ्छनायुक्त अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ध्यान भने जसरी पनि पीडितलाई न्याय दिने र मुलुकमा समृद्धि ल्याउनेमा रहेको उल्लेख गरे ।

द्वन्द्वपीडितमैत्री ढंगले शान्ति प्रक्रिया टुंग्याउन नेसपाको माग, बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दुई ठूला दलको सरकार बनेकाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा लाने अवसर भएकाले यसमा आफूहरुको साथ रहने अवगत गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *