माओवादी केन्द्र सरकार नभइ पार्टी बनाउने तिर केन्द्रित
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले सरकार नभइ पार्टी बनाउने तिर केन्द्रित रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आफूहरु अहिले सरकार नभइ पार्टी बनाउने तिर केन्द्रित रहेको बताएका हुन्। माओवादी केन्द्रलाई अहिले सरकार बनाउने खेलमा आफूहरुको रुची नभएको पनि प्रचण्डले बताएका छन्।
‘हामी सरकार हैन, पार्टी बनाउनेमा केन्द्रित भएका छौं,’ उनले भने, ‘हामीले देशभरि प्रदेश–प्रदेशमा गएर परामर्श बैठक गरेका छौं ।’
उनले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिएको भन्दै नेपाली कांग्रेस र नेकपा ९एमाले०लाई धन्यवाद भनिसकेको पनि बताए । ‘उहाँहरुले पार्टी पुनःनिर्माण गर्ने राम्रो अवसर दिनु भयो । पार्टी बनाउनेतिर लाग्छौं । सरकार बनाउनेतिर ध्यान छैन,’ दाहालले भने ।
प्रचण्डले फेरि कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला गलत भएको उल्लेख गरे । भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू नेतृत्वको सरकारलाई टिक्न नदिएको उनको भनाइ छ । ‘कांग्रेस र एमाले जुन मान्यतामा आधारित भएर अघि बढे । त्यसमा हाम्रो एजेन्डा मिल्ने कुरै भएन,’ उनी भन्छन्,-‘एजेन्डामा मिलेर जान चाहेको भए त हामी तयार नै थियौं । तर, हामीले भ्रष्टाचार विरोधी अभियान चलाउँदै गर्दा त्यसबाट बच्ने र भ्रष्टाचारीलाई जोगाउने काम भएकोमा हाम्रो आपत्ति हो ।’
