इटहरीमा आजदेखि सुरुभयो बिजुली बस सेवा

सुनसरी, २ असोज । इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

नगरवासीको सुविधालाई दृष्टिगत गरी उपमहानगरपालिकाले आजदेखि बिजुली बस सुरू गरेकाे हाे ।

उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु गरेकाे छ । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ् भएको हो ।

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ । गत साउन २२ गते रु छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले बिजुली बस खरिद गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने उपमहानगरपालिका जनाएकाे छ ।