श्रीलङ्काकाे राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाकाे ५२ प्रतिशत मतसहित अग्रता
एजेन्सी, ६ असाेज । श्रीलङ्कामा शनिबार सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतगणनामा माक्र्सवादी नेता अनुरा कुमारा दिसानायकाले अग्रता कायम गर्नुभएको छ ।
आइतबार बिहानसम्मको मतगणनाअनुसार दिसानायकाले १० लाखभन्दा बढी मत अर्थात् ५२ प्रतिशत मत प्राप्त गरी ५२ प्रतिशत मत पाउनुभएको छ ।
विपक्षी नेता साजिथ प्रेमदासा २३.३ प्रतिशत मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने रनिल विक्रमासिङ्घे १६ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।
सन् २०२२ मा देखिएको चरम आर्थिक सङ्कटका कारण चलेको आन्दोलनका भरमा तत्कालिन राष्ट्रपति गोटबाय राजपाक्षले राजिनामा गरेपछि उहाँको स्थानमा त्यहाँको संसद्ले रनिल विक्रमासिङ्घेलाई चयन गरेको थियो ।
विक्रमासिङ्घेले राजपाक्षको पलायन र राजिनामापछि खालि रहेको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै सङ्कटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने काम गर्नुभएको थियो ।
सन् २०२२ को आर्थिक मन्दीको चरमोत्कर्षमा सत्तामा पुगेका वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटको शर्तअनुसार कडा मितव्ययिता नीति लागू गर्नुभएको थियो ।
राष्ट्रपति विक्रमासिङ्घेको कर वृद्धि र आईएमएफको २.९ अर्ब अमेरिकी डलरको बेलआउटअन्तर्गत मन्दीलाई सही दिशा दिन लगाइएका अन्य उपायहरूले लाखौंलाई जीविका चलाउनसमेत कठिन भएको थियो ।
गत वर्ष सरकारले विदेशी ऋण नतिरेपछि प्राप्त गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को उद्धार प्याकेजका शर्तहरूमा पुनः छलफल गर्ने अभियानको क्रममा विक्रमासिङ्घेले गरेका वाचालाई दिसानायकाले निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको थियो ।
निर्वाचनको आधिकारिक नतिजा आइतबारसम्म पनि आउने अपेक्षा गरिएको छैन । श्रीलङ्काका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनका लागि मतदान गरेका थिए ।
सन् १९७० र १९८० को दशकमा दिसानायकाको माक्र्सवादी पार्टीले दुई असफल विद्रोहको नेतृत्व गरेको थियो जसमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।