झ्याप्लेमा अवरुद्ध सडक खुल्यो, राजमार्गमा अलपत्र परेका सवारीसाधन काठमाडौँ उपत्यका भित्रिदै

काठमाडौँ, १४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका सवारीसाधन काठमाडौँ उपत्यका भित्रिदै छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित एक हजार सात सय सवारीसाधन काठमाडौँ भित्रिदै गरेकाे जानकारी दिनुभयो । उहाँले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, आजदेखि काठमाडौँ उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिने बताउनुभयाे । अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको उहाँले बताउनुभयाे ।

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराउनुभएको थियो ।

“आज साझँसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्धार गरिरहेको छ ।”

प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गर्नुभएको छ । “अबरुद्ध सडक खुल्ने र खुलाउने क्रम जारी छ”, उहाँले भन्नुभयो, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।”

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।