युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्छ: उपप्रमुख डंगोल
काठमाडौँ, २२ असाेज । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्ने बताउनुभएकाे छ ।
संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा भाग लिएर स्वदेश फर्किनुभएका उपप्रमुख डंगोलले त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा पत्रकारहरूसंग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे ।
उपप्रमुख डंगोलले भ्रमणकाे क्रममा नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरेकाे बताउनुभयाे । उहाँले अमेरिकामा नेपाली डायस्पोरासँगको भेटघाट, संवादभएकाे जनाउँदै अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका ज्ञान र सिपलाई स्थानीयकरण गर्ने बाटो युवाहरूले समात्नुपर्ने बताउनुभयाे । उहाँले युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्ने बताउनुभयाे ।
उपप्रमुखले समिट अफ द फ्युचरसहितका सत्रहरुमा भाग लिनुभएको थियो । सहभागी भएका सत्रका विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्यका सम्भावना, डिजिटल टेक्नोलोजी यसमा पनि कृतिम बौद्धिकता (एआइ) को उपयोग र दुरुपयोगका विषयमा सुक्ष्म छलफल भएकाे थियाे । कृतिम बौद्धिकताको उपयोगका विषयमा अहिले मार्ग निर्देश गर्न सकिएन भने भोलि संकट आउन सक्नेप्रति सचेत गराइएको उहाँले बताउनुभयाे ।
महासभामा जलबायु परिवर्तनको विषय उठेकाे बताउनुहुँदै नेपालजस्ता ठूला ठूला उद्योग नभएका देशले जलबायुमा कुनै असर नगरेकाे, ठूला औद्योगिक देशबाट उत्सर्जित विकारले निम्तिएको विपत्ति नेपाल जस्ता मुलुकले व्यहोरेकाे, यसको निराकरणका लागि समस्या सिर्जना गर्नेहरुले जैविक विविधता जोगाउन लगानी गर्नु पर्ने विषयले महत्व पाएको बताउनुभयाे ।
हासभामा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यसहित विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पश्चातको मुल्यवृद्धि र गरिबी, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषयमा छलफल भएका थिए । छलफलमा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु सहभागी हुनुभएको थियो ।
नेपाली युवा राजनीतिज्ञको प्रतिनिधित्व गर्दै उहाँ असोज २ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलमा सहभागी भएर महासंघको ७९ औ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नु भएको थियो ।