कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

कञ्चनपुर, ४ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

नेपाल बुद्धिचाल महासङ्घ, काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता संयोजक नारायणदास गमालले तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिनुभयो । “तीनवटा विधामा प्रतियोगिता सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन्छ ।” उहाँका अनुसार तेस्रो नोकोसको क्लासिकल खेल स्वीस सिस्टम लिगमा आधारित ६० मिनेट प्लस ३० सेकेण्ड प्रतिचाल नौ राउण्डको हुनेछ । त्यसैगरी र्यापिड स्वीस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रतिचालको नौ राउण्ड र ब्लिट्ज स्वीस लिगकै तीन मिनेट प्लस दुई सेकेण्ड प्रतिचालको नौ राउण्डमा हुनेछ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार रु २५ हजारसहित २० खेलाडीलाई कुल रु ८३ हजार पाँच सय, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार रु ३० हजारसहित अन्य २० खेलाडीलाई कुल रु एक लाख ३१ हजार पाँच सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार रु ६० हजारसहित २५ खेलाडीलाई रु दुई लाख ५५ हजार नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *