काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक, ८ कात्तिक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ ।
बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो ।

योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।

बाँकी काम पूरा गर्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो । सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो ।

नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछ्र्याेट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आउनुभएको छ । यसअघि नगरले रु १० लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो ।

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्राधिकरणबाट रु दुई करोड ८० लाख रकम निकासा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक रु १३ लाख लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि खर्चिइएको हो । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो ।