सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लगातार दोस्रोपटक एनपीएलको फाइनलमा

काठमाडौं, १ मंसिर । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा निरोशन डिकवेलाले आक्रामक अर्धशतकीय पारी खेले । उनले २७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २७ बलमा २१ रन जोड्दा दिलीप नाथ १० रनमा अविजित रहे ।

बलिङतर्फ सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ विकेट लिए । स्कट कुगेलेइन र हेमन्त धामीले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए । किशोर महतो र अभिषेक गौतमले एक–एक विकेट हात पारे ।

हारसँगै सुदूरपश्चिमको फाइनल पुग्ने पहिलो अवसर गुमेको छ । अब उसले बुधबार हुने काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग उपाधिका लागि भिड्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *