एआई सम्मेलनमार्फत विज्ञान र प्रविधिको उपयोगबारे अधिक अनुभव प्राप्तको अवसर मिल्योः क्षितिज थेवे
युवा संघ नेपालले काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । विभिन्न देशका सो क्षेत्रका विज्ञहरुको उपस्थितिमा आयोजना गरेको सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुभएको थियो भने कार्यक्रमा उहाँले विज्ञहरुसँग संवाद पनि गर्नुभएको थियो । नेपालमै संभवत पहिलो पटक पटक एआई सम्बन्धि यति विशाल कार्यक्रम गरेर उत्साहित बनेको युवासंघले आगामी दिनमा थप कार्यक्रम गर्ने जानकारी दिएको छ । सम्मेलन, यसको उपलब्धि र आगामी योजनाबारे युवा संघका अध्यक्ष क्षितिज थेवेसँग मैत्रिन्युजले गरेको कुराकानीः
युवा संघ नेपालले नेपालमा एआई सम्मेलन गरेर नयाँ सन्देश दिएको छ । यसको खास उदेश्यचाँहि के–हो ?
अहिले विश्व बजारमै विज्ञान र प्रविधिको तिव्र विकास भैरहेको छ । अझ एआइले भन्ने हो भने तपाईँ–हामीले समेत सोच्न नसक्ने र अकल्पनीय विकास गरेको छ ।
त्यसैले नेपाली युवालाई पनि यो विषयमा थप प्रशिक्षित गराउनुपर्छ भन्ने सोँच पलायो । विश्वले नै अहिलेको यो युगलाई एआइको युग पनि भनिरहेको छ । एआइको युगसँगै हिँडेका विश्वले नयाँ–नयाँ अवधारण ल्याइरहेका छन् । जापनालगायतका देशले त विज्ञान, प्रविधिका क्षेत्रमा चमत्कारिक विकास गरेका समाचारहरु हामीले देख्ने, सुन्ने गरेका छौँ ।
यो सन्र्दभमा हाम्रो देशका युवालाई पनि सुचना, प्रविधिको युगसँगै विकास गर्दै लैजानुपर्छ र यसका लागि हजारौँ युवाहरुलाई प्रशिक्षित पनि गर्दै जानुपर्छ भनेर यो अवधारणसहित हामीले सम्मेलन गरेका हौँ । अहिलेको अवस्थामा भन्ने हो भने हजारौँ युवाहरु विदेशमा गएर यो विषयमा प्रशिक्षित हुने संभावना निकै कम छ । यस्तो अवस्थामा नेपालमै राखेर प्रशिक्षित गर्नुपर्छ भन्ने सोँच हामीमा आयो ।
तपाईँहरुले त्यसैका लागि विदेशी प्रशिक्षकहरु समेत ल्याएर यहाँ सम्मेलन गर्नुभएको हो ?
हो, निश्चय पनि हामीले यहि सोँचका साथ ख्यातिप्राप्त व्यक्तिहरुलाई नेपालमा बोलाएर हामीले एउटै थलोमा राखेर सम्मेलन गरेर केही नयाँ दिने प्रयास गरेका छौँ । एक हिसावले भन्ने हो भने हामी सफल पनि भएका छौँ । अहिले विश्व नै एआइको युग पछ्याइरहेका बेला नेपाल पनि यसको प्रयोगमा अब्बल छ भन्ने सन्देश हामी दिन चाहन्छौँ । हामीले यो सम्मेलनसँगै राष्ट्रिय एआई नीति बन्नुपर्छ भन्नेर सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेका छौँ । सम्मेलन यसका लागि थप फलदायी बनेको छ । हामीले यो सुरुवात मात्रै गरेका हौँ । अब विस्तारै एआई नीति–निर्माणमा पनि योगदान गर्नेगरी योजनाबद्ध ढंगले हामी अघि बढ्ने छौँ । यो सम्मेलनबाट प्राप्त सुझाव एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहने पनि हामीले अपेक्षा गरेका छौँ ।
यो सम्मेलनलाई प्रधानमन्त्रीज्युले पनि निकै महत्वका साथ लिनुभयो । तपाईँहरुको कार्यक्रमा समेत उपस्थित भएर कार्यक्रमको गरिमा बढाउनुभयो । उहाँको सन्दर्भममा चाँहि के भन्नुहुन्छ ?
हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले हाम्रो कार्यक्रममा उपस्थित मात्रै जनाउनु भएन । उहाँले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने कामका लागि सरकार लागि पर्ने भन्दै उत्साहित बनाउनु भयो । हामीले आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहभागी भएर प्रधानमन्त्रीज्युले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कार्यक्रममा विकासको तीर्खाबाट हामी ग्रस्त छौँ भन्दै त्यसका लागि डिजिटल नेपालको अवधारणासहित आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ भन्दै एसइईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउनका लागि पनि त्यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा सरकारको ध्यान रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आएर उहाँले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी समेत गराउँदा हामी उत्साहित भएका छौँ । उहाँले हामीलाई दिएको उर्जा र मार्गनिर्देशनले थप उत्साहित भएका छौँ । उहाँले डिजिटल नेपालमा जाने मार्गका बारेमा पनि प्रष्ट पार्नुभएको छ । हामी उहाँको मार्गनिर्देशनमा रहेर सम्मेलनबाट प्राप्त सुझाव बुझाउने छौँ ।
यो सम्मेलनमा विज्ञहरु कहाँ–कहाँबाट ल्याउनु भएको थियो ?
हामीले विभिन्न देशका एआई विज्ञहरुलाई यो अन्तराष्ट्रिय सम्मेलनमा बोलाएका थियौँ । युरोपियन युनियन, विभिन्न देशका विश्वविद्यालयका प्राध्यापकहरु, विभिन्न देशका विज्ञान, प्रविधिका क्षेत्रका विज्ञहरु, जापान, हङ्कङ, कोरिया, बेलायतलगायतका देशका विज्ञहरुलाई समेत यहाँ बोलाएर उहाँहरुको त्यहाँको अवस्था र एआइको प्रयोगबारे जानकारी लिने प्रयास गरेका छौँ । समग्रमा भन्ने हो भने यो सम्मेलनले धेरै कुरा सिकाएको छ ।
नेपालमा राजनीतिक दलहरुप्रति नै नकरात्मक धारणा विकास गराउने प्रयास भैरहेको छ । यस्तो बेलामा युवाहरुप्रति पनि राजनीतिक दलहरुप्रति नकरात्मक धारणा विकास भैरहेका बेला तपाईँहरुले युवा सहभागितामुलुक कार्यक्रमहरु गर्दै आउनु भएको छ । यस अघि पनि तपाईँहरुले केपी ओली कप भनेर निकै भव्य कार्यक्रम गर्नुभएको थियो । यस्ता कार्यक्रमहरु युवाहरुलाई पार्टीप्रति आकर्षित गराउने उदेश्यले पनि गरिएको हो ?
पछिल्लो एक तथ्याङ्क अनुसार विगत ३ महिनामा मात्रै सूचना, प्रविधिको सेवाबाट मात्रै करीब ३ अर्ब रुपैयाँ निर्यात भएको रहेछ । यो सकारात्मक सन्देश हो । युवा उद्यमीका लागि सूचना, प्रविधिका क्षेत्रमा अवसर छ है भन्ने खुशीको सन्देश दिने तथ्याङ्क हो । मत विदेशमा रहेका युवाहरुलाई समेत अनलाइन कोर्षमार्फत नेपालको सूचना, प्रविधिको क्षेत्रमा काम गर्ने वातावरण मिलाउने कुरामा ध्यान पुग्न सकोस् भन्ने चाहना राख्छु ।
युवाहरुलाई जुन देशमा पुगेपनि हाम्रा लागि राज्य छ भन्ने भरोसा दिलाउनका लागि पनि एआइलाई प्राथमिकतामा राखेर विश्वभरीका युवाहरुलाई लक्षित गरी योजना बनाएर अघि बढन्पर्छ भन्ने मेरो माग छ । मेरो देश नेपाल हो, म नेपाली हुनुमा गर्व गर्छु भन्ने भावना विश्वका जुनसुकै देशमा पुगेका युवाहरुमा समेत जागृत गराउन हामी सबै एकढिक्का भएर लाग्नुपर्छ र यसका लागि राज्यले पनि योजना बनाएर अघि बढ्न सक्नुपर्छ ।
अहिले तपाईँहरुकै पार्टीको नेतृत्वको सरकार छ । आगामी दिनमा युवालाई आकर्षित गराउने केही योजना बनाउनु भएको छ ?
अहिले देशको सबैभन्दा ठूलो समस्या भनेको बेरोजगारी हो । सबै भन्दा ठूलो विषय भनेको रोजगारी सिर्जना गर्नु हो । यहि विषयलाई ध्यानमा राखेर केपी ओली प्रधानमन्त्री बन्ने वितिक्कै ‘स्र्टाटअप कार्यक्रम’ को सुरुवात युवा संघले गरेको छ । हामीले तीन वर्ष भित्रमा ५० हजार युवालाई उद्यमी बनाउने योजनासहितका कार्यक्रम अघि सारेका छौँ ।
युवा संघले ‘युवा उद्यमी’ कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ भनेर योजना अघि सारेको छ । हामीले सरकारसँग पनि यो विषयमा छलफल गरेका छौँ । यस्ता कार्यक्रमले प्रत्यक्षरुपमा चार–पाँच लाख युवालाई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ भन्ने लागेको छ । यो अभिनाले युवाहरुमा आशा जगाउने पनि अपेक्षा गरेका छौँ ।