दार्चुला जीप दुर्घटना अपडेट : गम्भीर घाइते तीनजनालाई सेनाको हेलिकप्टरबाट धनगढी लगियो

दार्चुला, ३० कात्तिक । दार्चुलामा भएकाे जीप दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कैलालीको धनगढी लगिएको छ ।

हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार आठ जनाको मृत्यु भएको थियो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा तथा भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही ठाउँका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको हो ।

दुर्घटनाका अन्य घाइतेको गोकुलेश्वरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *