हरिबोधनी एकादशीमा सेती नदी किनारमा भक्तजनको घुइँचो

काठमाडौँ, मंसिर ५ । हरिबोधनी एकादशीका अवसरमा पोखरास्थित सेती नदीका विभिन्न घाटमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सेती नदी किनारका घाईघाट, तुलसीघाट, नारायणथान मन्दिर, ढुङ्गेसाँघु र रामघाट क्षेत्रमा पूजाआराधना तथा स्नान गर्ने भक्तजनको बढी भीड देखिएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले जानकारी दिनुभयो ।

एकादशीको अवसरमा आयोजित धार्मिक मेला अवलोकन तथा पूजाआराधनाका लागि कास्कीका विभिन्न स्थानसँगै स्याङ्जा, पर्वत र तनहुँलगायत छिमेकी जिल्लाबाट समेत भक्तजन पोखरा पुगेका थिए ।

यस अवसरमा तुलसीघाटमा तुलसी विवाह महोत्सवसमेत आयोजना गरिएको थियो । महोत्सवलाई हर्षोल्लासपूर्ण र व्यवस्थित बनाउन नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिसहित विभिन्न सामाजिक सङ्घसंस्था र स्थानीय तहले सहकार्य गरेका थिए ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु हरिबोधनी एकादशीका दिन जाग्नुहुन्छ । त्यसैले यस दिनलाई ठूलो एकादशीका रूपमा मनाउने परम्परा छ ।

हरिबोधनी एकादशीका दिन तुलसी विवाह, नदी तथा तीर्थस्थलमा स्नान र भगवान् विष्णुको पूजाआराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण सेती नदीका घाटमा भक्तजनको भीड लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *