पञ्चेबाजा संरक्षणमा जुटे गढवा गाउँपालिकाका कला केन्द्र

दाङ, ४ मङ्सिर । नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेपछि दाङको गढवा गाउँपालिका–६ परिचोकका स्थानीय पञ्चेबाजा संरक्षणमा जुटेका छन् ।

लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताउनुभयो ।

परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उहाँले उल्लेख गर्नुभयो ।

जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्त्रण समेत हुन थालेको उहाँको भनाइ छ ।

लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियाताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ । बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको उहाँले बताउनुभयो ।

गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “पहिला मादल पनि बजाउन आउँदैनथ्यो, विस्तारै सबै सिक्दै जानेको हुँ”, उहाँले भन्नुभयो, “यहाँका ज्येष्ठ नागरिकको पहलमा बाजा बजाउन लागेका छौँ, यसले समाजमा सकारात्मक सन्देश दिने अपेक्षा छ ।”

पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौँ, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरुमा पनि जाने गरेको केन्द्रका अध्यक्ष थापाले अनुभव सुनाउनुभयो ।

गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएकाे बताउनुभयो । समूहमार्फत काम गर्दै आएकाले यसले पुस्ताहस्तान्त्रण हुँदै गएको उहाँको बुझाइ छ ।

गढवा–६ हासिँपुरका थानेश्वर आचार्यले लोप भएको बाजालाई संरक्षण गर्न अभियान सुरु गरेको बताउनुभयो । केन्द्रका सदस्यसमेत रहनुभएका उहाँले सुरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु दुई लाखको बजेटमा पञ्चेबाजा बजाउने तालिम लिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तालिममा १२ जना स्थानीयको सहभागिता थियो । स्थानीय सरकारले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सीप विकाससम्बन्धी तालिम, अनुदानलगायत व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

केन्द्रका सदस्य चुडामणी खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको रु २५ हजार र जिल्ला बाहिर जाँदा रु ३० हजार लिने गरेको जानकारी दिनुभयो । उक्त रकममध्ये रु पाँच हजार कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरुप लिने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *