प्रतिपक्षी दलका नेता प्रचण्डले रविमाथिको अनुसन्धान प्रभावित पार्नु बेठिक : गृहमन्त्री लेखक

काठमाडाैं, २५ मङ्सिर । गृहमन्त्री रमेश लेखकले अनुसन्धान प्रभावित हुने गरी प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दिएकाे अभिव्यक्ति बेठिक भएको बताउनुभएकाे छ ।

मंगलबार सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान भइरहेकाे बेला प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अदालतलाई र अनुसन्धानलाई प्रभावित गर्ने र न्यायिक प्रक्रिया प्रभावित गर्ने गरी बोल्नु बेठिक भएकाे बताउनुभएकाे हाे ।

गृहमन्त्री लेखकले कसैको मानव अधिकार हनन् हुने गरी अनुसन्धान नगरिएको साथै सरकार मानव अधिकारको रक्षाका लागि गम्भीर रहेको पनि बताउनुभयाे ।

‘सरकारी वकिलको कार्यालय घेर्ने, अदालत घेर्ने यो कुराहरू बेठिक हो,’ गृहमन्त्री लेखकले भन्नुभयाे, ‘त्यसकारण कसैको मानव अधिकार हनन् भएको छैन।’

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेसबुकमा लेख्दै रास्वपा सभापति लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका थिए।