बढ्यो चिसो : काठमाडौँ उपत्यकाकाे न्यूनतम तापक्रम ३.९ डिग्री

काठमाडौँ, २७ मङ्सिर । काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् ।

आज बिहान काठमाडाैंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।

जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।