काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो

काठमाडौं, २९ मङ्सिर । काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको हाे । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन । केही दिन पानी पर्ने सम्भावना देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ ।

जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम-७ मा झरेको छ ।