कुष्ठरोगको उच्च जोखिममा बाँके

बाँके, १७ पुस । एक वर्षको अवधिमा बाँके जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।

जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् ।

साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एक जना रहेका जानकारी दिनुभयो ।

पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको थियो । बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उहाँले बताउनुभयो ।

अस्पतालले आफ्नो बहिरङ्ग सेवामार्फत गत आर्थिक वर्षमा १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको थियो । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई विस्तार गर्दै पश्चिम क्षेत्रको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको थारुले बताउनुभयो ।

अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको प्रमुख थारुले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गद शाहीले आइएनएफले कुष्ठरोग नियन्त्रणमा ठूलो योगदान गर्दै आएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *