चितवनको भरतपुरमा प्रहरीबाट निर्घात कुटिए युवक, डीएसपीको नेतृत्वमा छानबिन समिति गठन

चितवन, ७ माघ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेका छन् ।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई रातीकाे समयमा कुटपिट गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको हाे ।

प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ ।

प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएकाे छ ।

घटना कहिलेकाे हाे भेरिफाइ गरेर आवश्यक अनुसन्धानसहित नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीकाे भनाइ छ ।