पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

काठमाडाैं, १० माघ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पेस्तोलसहित भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गएराति भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले चेक जाँच गर्दा पेस्तोलसहित फेलापरेपछि उनिहरूलाई पक्राउ गरिएकाे हो ।

कार चालकको सिटको पछाडीको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार पेस्तोल फेला परेपछि कारमा सवार भारतको उत्तराखण्ड प्रदेशको उधमसिंह नगर जिल्ला प्रेमनगर खटिमा बस्ने वर्ष ३२ का सञ्जय जेठी, वर्ष ३४ का जिवन सिंह, वर्ष ३२ का कोमल विष्ट र वर्ष ३४ का उमेद सिंह अधिकारीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।

कारमा भारतीय नागरिक हतियारसहित गइरहेको गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा गएको प्रहरी टोलीले राति चारै जनालाई हतियारसहित पक्राउ गरेको जनाएकाे छ ।