सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडाैं, ११ माघ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । उक्त सुरुङमार्गकाे ‘ब्रेक थ्रु’ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुभएको हो ।

प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो