सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

भक्तपुर, १५ माघ । सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ।

यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको थियो। आजदेखि आफ्नै भवनबाट सेवा सुरु भएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरू नयाँ भवनमा सारेर सेवा सुरु भएको छ। भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरू सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुन्छ।”

नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री संरचना, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो।

नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा पहिलो पटक नगर प्रमुखको पदभार ग्रहण गर्दा दुई कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिएर कार्यालय सञ्चालन गरेको नगरपालिकाले आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको बताउनुभयो।

नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो। नगरपालिकाले आगामी २०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको समेत जानकारी दिएको छ।