मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणबारे भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ, ३० कात्तिक । मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्व कायम गर्ने दीर्घकालीन उपाय खोज्ने उद्देश्यले भुटानको राजधानी थिम्पुमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

‘साझा भू–दृश्यमा द्वन्द्व व्यवस्थापनबाट उत्थानशील प्रणालीतर्फ’ भन्ने नारासहित सोमबारदेखि सुरु भएको सम्मेलन मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङका अनुसार वन क्षेत्र विस्तार, पूर्वाधार निर्माण, भूमिको उपयोगमा परिवर्तन, जलवायु परिवर्तन र जनसङ्ख्याको चापका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ ।

डब्लुडब्लुएफ भुटानको सहआयोजनामा भइरहेको सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, संरक्षणकर्मी, स्थानीय समुदाय तथा विकास साझेदारका प्रतिनिधि सहभागी छन् ।

सम्मेलनमा मानव–वन्यजन्तु सहअस्तित्वका सफल अभ्यास, नवीन प्रविधि, वैज्ञानिक अनुसन्धान र सामुदायिक सहभागिताका विषयमा छलफल हुनेछ । साथै, परम्परागत द्वन्द्व व्यवस्थापनका उपायको प्रभावकारिता र नयाँ समाधानका सम्भावनाबारे अनुभव आदानप्रदान गरिनेछ ।

भुटान तथा पूर्वी हिमाली क्षेत्रमा सहअस्तित्व प्रवर्द्धन गर्न साझा कार्ययोजना, संस्थागत सहकार्य, अनुगमन प्रणाली र दीर्घकालीन वित्तीय व्यवस्थाका विषयमा समेत छलफल हुने डा गुरुङले बताउनुभयो ।

सम्मेलनमा हात्ती, बाघ र हिउँचितुवालगायत वन्यजन्तुलाई केन्द्रमा राखेर बासस्थान संरक्षण, पूर्वाधारको प्रभाव तथा स्थानीय समुदायको जीविकोपार्जनमा पर्ने असरबारे पनि विमर्श गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *