बागलुङबाट यस वर्ष रु २६ करोड ४६ लाखको सुन्तला बिक्री

बागलुङ, १९ माघ । बागलुङमा यस वर्ष  रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला बिक्री भएको छ ।
बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका हुन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आएकाे हो ।
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य रु ६० रहेकोमा यस वर्ष बढेर रु ६५ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उहाँको भनाइ छ ।
अघिल्लो वर्ष रु २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भन्दै यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिँचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको सूचना अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन किसानलाई प्राविधिक सहयोगसहित अनुदान दिने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आयो तर मूल्यका हिसाबले भने बढेको छ, किसानले तुलनात्मकरूपमा यस वर्ष घाटा व्यहोर्नु परेको छैन, थोरै भए पनि फाइदानै लिनुभएको छ, यस वर्ष रु ५ ले मूल्य बढेको हुँदा किसान समस्यामा पर्नु भएको छैन, अझै पनि किसानले सुन्तला बजार पठाइ राख्नुभएको छ ।”
कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । त्यसमध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका बिरुवाले उत्पादन दिएका छन् । जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *