हराउँदै ढिकीजाँतोको प्रचलन
भोजपुर, २० माघ । गाउँघरमा कुटानी पिसानीका लागि प्रयोग हुने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ। आधुनिक विद्युतीय मिलको आगमनसँगै ग्रामीण भेगमा ढिकीजाँतोको प्रयोग हराउन थालेको हो।
विद्युत् तथा पेट्रोल/डिजेलबाट चल्ने आधुनिक मिलको सहज उपलब्धताले गर्दा ढिकीजाँतोको प्रयोग घट्दै गएको हो। मानिसहरू उत्पादनमुखीभन्दा आयातित खाद्यान्नमा निर्भर हुँदा पनि ढिकीजाँतोको चलन हराएको देखिन्छ। विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने गरिन्थ्यो। तर, अहिले आधुनिक मिलको प्रयोगले कुटानी पिसानी सजिलो भएको छ।
दशक अघिसम्म स्थानीयको घरमा ढिकीजाँतो अनिवार्य हुन्थ्यो। तर, अहिले त्यो चलन हराउँदै गएको ९९ वर्षीय वृद्ध बेनीबहादुर विष्ट बताउँछन्। उनका अनुसार पितापुर्खाले प्रयोग गरेका यस्ता प्रविधिको संरक्षण गर्न आवश्यक छ। “गाउँघरमा परम्परागत रूपमा प्रयोग हुने ढिकीजाँतो र पानीघट्टको चलन हराउँदै गएको छ,” उनले भने, “पहिला गाउँघरमा ढिकीजाँतो अनिवार्यजस्तै थियो, तर अहिले प्रविधिको विकाससँगै यो इतिहास बन्ने अवस्था छ।”
विद्युत् पुगेसँगै अधिकांश ठाउँमा विद्युतीय मिल राखेर धान, मकै कुट्ने र पिठो पिसाउने काम हुन थालेपछि ढिकीजाँतोको प्रयोग घटेको हो। कुटानी पिसानीका लागि आधुनिक मिलले सजिलो बनाएपछि ढिकीजाँतो लोप हुँदै गएको स्थानीयको भनाइ छ।
स्थानीय तिलकबहादुर विष्टका अनुसार ढिकीजाँतोमा कुटेका खानेकुरा स्वास्थ्यकर र स्वादिष्ट हुन्छन्। “आधुनिक मिलमा कुटानी-पिसानी सजिलो भए पनि परम्परागत चलन हराउँदै गएको छ,” उनले भने। गाउँका प्रत्येकजसो घरमा देखिने ढिकीजाँतो अहिले लोप हुँदै गएको उनको भनाइ छ।
भौगोलिक रूपमा विकट र विद्युत् नपुगेका गाउँमा भने अझै पनि ढिकी तथा जाँतोको प्रयोग हुन्छ। तर, विद्युत् पुगेका ठाउँमा भने यसको प्रयोग हराएको स्थानीय रामबहादुर विष्ट बताउँछन्।
उनका अनुसार परम्परागत रूपमा प्रयोग हुने ढिकीजाँतोलाई संरक्षण गर्न आवश्यक छ। पूजाआजामा प्रयोग हुने पिठो, चामल कुट्नका लागि ढिकी अनिवार्यजस्तै रहेको उनको भनाइ छ।
परम्परागत काममा मेहनत धेरै परे पनि कम खर्चिलो हुने स्थानीयको भनाइ छ। आधुनिक मिलले दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनीहरूको भनाइ छ।
