सरकार ढाल्ने शक्ति नहुनेहरू सरकार ढल्छ भन्दै हिँड्दैछ : उपप्रधानमन्त्री पौडेल
काठमाडाैं, २१ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने गरेकाे बताउनुभएकाे छ ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उहाँले सरकारले मुलुकका समस्या समाधानका लागि नै पछिल्लो पटक अध्यादेश ल्याएको स्पष्ट पार्दै यस्ताे बताउनुभएकाे हाे ।
सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताउनुभएको छ ।
“सरकारले यो कदम मुलुकका समस्याको गतिरोध तोडनका निम्ति गरेको एउटा सशक्त पहल हो”, उहाँले भन्नुभयो,“यसका सकारात्मक नतिजा क्रमशः आउन थालेका छन् ।” अध्यादेशका फरक–फरक विषय राम्रोसँग अध्ययन, छलफल गरेर आम नागरिककाबीच वास्तविकता सूचना पुर्याउने हिसाबले लाग्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयका गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ,“अहिले पछिल्ला दिनमा सरकार ढल्छ, भन्ने विषय कम सुनिन थालेको छ । जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँडने हो । ”उपप्रधानमन्त्री पौड्लले वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले आएर मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको बताउनुभयो ।
“सरकार अब सकारात्मक दिशातर्फ अगाडि बढेको छ, यो गतिलाई तीव्रता दिँदै मुलुकलाई ओरालो लाग्ने अवस्थालाई रोकेर, क्रमशः गति बढाउने अवस्थामा पुगेका छाैं”, उहाँले भन्नुभयो, आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौँ, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौँ र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छाैं भन्ने विश्वास छ ।”
उहाँले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा संविधानले दिएका नागरिकका हक, वाक तथा प्रेस स्वतन्त्रताकाविरुद्ध सरकार उभियो कि भन्ने आम रुपमा भ्रम फैल्याउने काम भएको बताउनुभयो । उहाँले वर्तमान नेतृत्व वाक तथा प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताका र नागरिकका अधिकारका निम्ति जीवनभर लडेका राजनीतिक पार्टीक नेता कार्यकर्ता रहेकाले त्यस्तो स्वतन्त्रताकाविरुद्ध कदापि लाग्न नसक्ने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाललाई नियमनसम्बन्धी विधेयक वाक् तथा स्वतन्त्रताविरुद्ध नभएको स्पष्ट पार्नुभयो । उहाँले नियमन गर्नु र स्वतन्त्रताकाविरुद्ध उभिनु एउटै विषय नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“कसैले पनि आफूले गरेको कामका निमित्त आफै उत्तरदायी हुनुपर्छ । राम्रो काम गर्ने पुरस्कृत हुने र कमजोरी गर्ने आलोचना हुन्छ, अपराध गर्ने दण्डित हुनुपर्छ ।”
उहाँले सरकारले प्रस्ताव गरेको विधेयकमा संविधान र कानुनले नागरिकलाई प्रदान गरेका अधिकारलाई बन्देज लगाउने कही नभनेको नियमन गर्ने, व्यवस्थित गर्ने र अनाधिकृत, अनुत्तदायी, समाजको एकता, सद्भाव खलबल्याउने विभिन्न खालका विकारयुक्त अभिव्यक्तिको पाणी चलाएर दिग्भ्रमित गर्ने कार्यलाई नियमन गर्न खोजिएको बताउनुभयो ।