च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर, २३ माघ । ललितपुर स्थित मनोहरा खोला किनारमा रहेकाे च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेपछि पुन:निर्माणका लागि तत्काल रु दुई करोड आवश्यक हुने भएकाे छ ।

खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति रू दुई करोड लाग्ने बताएका हुन् ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूूर्ण सुनदासले बताउनुभयो । उहाँले भन्नुभयो,“बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।”

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउनुहुन्छ । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सराेकार भएकाहरु मौन रहेकामा उहाँ दुःखी हुनुहुन्छ । खेलकुद परिषद्सँग रु १० लाख माग गरेकाे तर हालसम्म निर्णय नभएको उहाँको कथन छ ।

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिनुहुन्छ । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *