प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरेर दिउँसै रात पारे : महासचिव  पोखरेल

काठमाडौं, २५ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोली फेर्ने प्रवृत्ति देखिएको बताउनुभएकाे छ ।

प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा सामाजिक सञ्जाल विधेयकबारे दिएको अभिव्यक्तिलाई लिएर महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएकाे हाे।

उहाँले प्रचण्ड सत्तामा रहँदा एउटा र बाहिर हुँदा अर्को बोल्ने गरेको आरोप लगाउनुभएकाे छ । फेसबुकमा उहाँले लेख्नुभएकाे छ, ‘सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड र अहिले विपक्षी दलको नेता रहेका प्रचण्ड एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न गराएको छ ।’

महासचिव पोखरेलले प्रचण्डले प्रधानमन्त्री हुँदा टिकटक बन्द गर्ने निर्णय गरेको स्मरण गराउँदै अहिले त्यही टिकटक खोल्न दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएकोमा आश्चर्य व्यक्त गर्नुभएकाे हाे ।

उहाँले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने तर्कलाई गलत भएको बताउनुभएकाे छ ।

महासचिव पोखरेलले प्रचण्डको विरोधाभासी अभिव्यक्तिको कारण सत्ता गुमाउँदाको छटपटी बाहेक अरू केहि नभएकाे बताउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *