आजबाट तीन चलचित्र प्रदर्शनमा

काठमाडौं,२५ माघ । आजबाट एकसाथ तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । माघको अन्तिम सातादेखि आउँदो केही महिनासम्म हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने क्रममा ‘मम्मी’, ‘जुना’ र ‘सारङ्ग’ आजबाट प्रदर्शनमा आएका हुन् ।

‘मम्मी’ हरर साइकोलोजिकल–थ्रिलर विधामा बनेको निर्देशक समर निरौलाले जानकारी दिएका छन् । उनका अनुसार यो चलचित्र नियमित बनिरहेका चलचित्रभन्दा फरक प्रयास हो । चलचित्रमा प्रियङ्का कार्की, सुलक्षण भारती, दीया मास्केलगायतका कलाकारको अभिनय छ ।

बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले ‘जुनाः एक व्यथा’ निर्माण गरिएको निर्देशक जीवन सेञ्चुरीले बताएका छन् । चलचित्रको कथा उमेर नपुग्दै विवाह भएकी युवतीले भोग्ने कथामा आधारित रहेको छ । चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।

त्यस्तै बाल मनोविज्ञान र मित्रताको कथामा आधारित ‘सारङ्ग’ लाई प्रशान्त तामाङले निर्देशन गरेका हुन् । निर्देशक तामाङका अनुसार चलचित्रमा परिवारमा हुने आपसी कलहले बालबालिकामा पार्ने असर, बाल्यकालमा जोडिने मित्रता र सामाजिक उत्तरदायित्वलाई समेटिएको छ । चलचित्रमा उत्पल झा, ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, लगायतका कलाकारको अभिनय रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *