नेपालको ‘ग्रेटवाल’ ऐतिहासिक मकवानपुरगढी दरबार घुम्दा (भिडियो)
बागमती प्रदेशको राजधानी हेटौंडाबाट करीब १७ किलोमिटर पूर्व–उत्तरमा कान्तिपथ नजिकै रहेको मकवानपुरगढी दरबारको तपाईंले भ्रमण अवश्य गर्नुभएको होला । यदि यो ऐतिहासिक गढीको भ्रमण तपाईँले गर्नुभएको छैन भने हामीले तपाईँलाई यो भिडियो मार्फत घुमाउने प्रयास गरेका छौँ ।
सेन वंशका अन्तिम राजा दिग्वन्धन सेनलाई पराजित गरी पृथ्वीनारायण शाहले विं.सं. १८१९ भदौ ९ गते करीब आठ घण्टाको अथक लडाईंपछि विजयी प्राप्त गरेको ऐतिहासिक दबार हो मकवानपुर गढी दरबार । नेपालको सबैभन्दा ठूलो र पुरातात्विक तथा ऐतिहासिक हिसावले पनि अत्यन्त महत्वपूर्ण मानिने यो गढी रणनीतिक महत्वसँग पनि त्यत्तिकै जोडिएको छ ।
राजनीतिक, सामाजिक, आर्थिक तथा सैने शक्तिमा अन्य राज्यहरु भन्दा शक्तिशाली रहेको मकवानपुर राज्यलाई नेपालको एकीकरणको दौरानमा उपत्यकाका तीन राज्यहरु (कान्तिपुर, पाटन र भादगाउँ) माथि आक्रमण गरी विजयी हासिल गर्नका लागि उक्त राज्य कब्जा गर्नैपर्ने रणनीतिक महत्व रहेका कारण पृथ्वीनारायण शाहले विभिन्न योजनासहित निकै ठूलो प्रयासमा यो राज्य कब्जा गरेको इतिहास यहाँका लेखोटहरुमा पनि उल्लेख गरिएको छ ।
सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिग्बन्धन सेनसम्मका ७ पुस्ताले शासन संचालन गरेको इतिहास बोकेको यो गढी दरबारको विशाल ढोका छिरेर यसरी मकवानपुरगढी परिसर पुग्दा वंशी गोपालको मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर अनि गुम्बा तथा स्तूप जस्ता धार्मिकस्थलहरू पाइलेपिच्छे भेटिन्छन् । सेन वंशी राजाहरु धर्मिक आस्थाका थिए भन्ने ती जीवन्त प्रमाण हुन् । सेन वंशी राजाहरुले राजकाज गरेको दबार, कैदी राख्ने कारागार, पानी भण्डारण गर्ने ठाउँ, पालेपहरा र हातहतियार राख्ने ठाँउहरुले पनि त्यहाँको शोभा बढाएको छ ।
१ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको र समुन्द्री सतहदेखि १०१७ मिटरको उचाईको पहाडी थुम्कोमा अवस्थित मकवानपुरगढी दरबार सेन वंशकोे ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थल पनि हो । यहि थुम्कोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिक बनेर फहराइ रहेको नेपालको राष्ट्रिय झण्डा फहराइ रहेको यहाँ पुग्ने पर्यटकले देख्नसक्छन् ।
यहि फहराइरहेको झण्डासँगै १८१९ माघ १० गते गोर्खाली सेनाले विरोधीलाई विजयी प्राप्त गरेको २५६ औँ विजय उत्सवको अवसरमा २०७५ साल माघ १० गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले अनवरण गरेको नेपालको नक्शा देख्न सकिन्छ । त्यहि बेला उक्त झण्डा पनि राष्ट्रपतिले झण्डोत्तोलन गर्नुभएको थियो । सात प्रदेश अंकित नेपालको नक्सामाथि नेपालको राष्ट्रिय झण्डा शान बनेर फहराइरहेको पनि त्यहाँ देख्न सकिन्छ । सेन वंशको अन्त्य गरेपछि दिग्वन्धनको सहयोगार्थ गुरगिन खाँको नेतृत्वमा आएका करीब २५ सय मुगल सेनाका फौजलाई गोर्खाली सेनाले विं.सं. १८१९ माघ १० गते परास्त गरेका थिए भन्ने इतिहास भेटिन्छ ।
एकीकरण अभियानका दौरानमा रहेका पृथ्वीनारायण शाहले मकवानपुर जस्तो शाक्तिशाली राज्य कब्जा गर्न मकवानपुर राज्यकी राजकुमारी इन्द्रकुमारी देवीसँग विवाह गरी दिग्बन्धन सेनसँग ज्वाई–जेठानको नाता जोडी त्यहाँको सबै अवस्था बुझी कब्जा गरेको इतिहास मात्रै होइन त्यसपछि दिगबन्धन सेन आफ्ना बाँकी सेना लिएर करीब ४० किलोमिटर टाढा रहेको हरिहरपुर गढीतर्फ गएको भन्ने तथ्य पनि यहाँका लेखोटहरुमा पाइन्छ ।
यो मन्दिरका पुजारी चन्द्रप्रसाद घिमिरेले सेन वंशको अन्त्य भए पनि अहिलेसम्म उन्नत वास्तुकलाको प्रतिरूप बनेर मकवानपुरगढी दरबारका पुरातात्विक दृष्टिले महत्वपूर्ण प्राचिन अवशेष जीवन्त बनेर बसेको उल्लेख गर्नुभयो ।
गढीको सुरक्षाका लागि चारै किल्लामा करिब २५ फिट अग्ला र करीब ४ फिट चौडाइका पर्खाल अनि पर्खाल वरपर करीब १० फिट गहिरा खाडलहरुले पनि तत्कालीन समयको सामरिक महत्व अनि सुरक्षाका लागि त्यतिबेला अपनाइएका दूरदर्शिता झल्काउने जीवन्त अवशेषका प्रमाणहरु भएको उहाँको भनाई छ ।
नेपालको ‘ग्रेटवाल’को चर्चा पाएको गढी दरबार घुम्नका लागि धादिङको धार्केबाट आउनु भएका नारायण काफ्ले र देबकुमारी काफ्ले मात्रै होइन घुम्नकै लागि हेटौँडादेखि आउनु भएका प्रकाश पौडेल आफ्नो पृष्ठभूमिका अग्लाअग्दा धूपीसल्लाका रुख देखाउँदै यहाँको महत्व बताउनुभयो ।
त्यसो त घुम्नकै लागि गढी आउनु भएका कमल दाहाल र विमला अधिकारीले पनि खुशी व्यक्त गर्नुभयो । बनभोजका लागि आउनु भएका कमला दाहाल र विमला अधिकारीले पनि दंग हुनुहुन्थ्यो । मकवानपुर गढी पर्यटकीय स्थल मात्रै होइन ।
यो शान्त र मन बहलाउने चौतारी पनि हो । धूपीसल्लाका रुखहरुका बिचमा राखेका बिसौनीमा आफ्नै पारामा गितार बजाइरहनु भएका युवा रमेश रेग्मी यही शान्त वातावरणमा यसरी रमाइरहनु भएको थियो । उहाँले पनि आफ्नै तरिकाले खुशी व्यक्त गर्नुभयो । रामन्द्र रेग्मीले अझै विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको ‘ग्रेटवाल’ ऐतिहासिक मकवानपुरगढी दरबार घुम्दा
