कांग्रेस महाधिवेशन २०८४ को चुनावअघि नै हुन्छ : महामन्त्री थापा

काठमाडाैं, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन आगामी आम निर्वाचनअघि नै सम्पन्न गरिने बताउनुभएकाे छ ।

आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले कानुन र पार्टी विधानले तोकेअनुसार चार वर्षभित्रै महाधिवेशन गर्ने प्रयास भइरहेको जानकारी दिनुभयाे । “आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने गरी काम गरिरहेका छौं,” उहाँले भन्नुभयाे, “तल्लो तहका साथीहरूले यसमा सहयोग गर्नुपर्छ ।”

विधानअनुसार पार्टीको कार्यकाल २०८२ सालको मंसिर-पुसमा सकिने र एक वर्षसम्म म्याद थप्न सकिने भए पनि पूरै एक वर्ष नथपिने उहाँले स्पष्ट पार्नुभयाे । सभापतिसँग छलफल गरी आवश्यक समय मात्र थप गरिने र २०८४ को आम निर्वाचनअघि नै महाधिवेशन सक्न प्रयास गरिने उहाँको भनाइ छ ।

यसैबीच, सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकबारे बोल्दै उहाँले विधेयकमा धेरै समस्या रहेको र परिमार्जनबिना पारित नहुने बताउनुभयाे । सरकारले ल्याएको अध्यादेश भने एक-दुई दिनमै संसदमा पेश हुने र छलफलपश्चात पारित हुने उहाँले जानकारी दिनुभयाे ।