सवारी चालक लाइसेन्सकाे परिक्षा दिने नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने पक्राउ

काठमाडाैं, १२ फागुन । कञ्चनपुरमा यातायात व्यवस्था कार्यालयले शनिबार सञ्चालन गरेको सवारी चालक अनुमतिपत्र परीक्षामा नक्कली परीक्षार्थी र परीक्षा दिन लगाउने व्यक्तिहरू पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक जमुना जोशीका अनुसार बेदकोट नगरपालिका-६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट-५ का अस्मित डगौरालाई पक्राउ गरिएको हो।

त्यसैगरी, सुवास डगौरालाई पनि परीक्षा दिन लगाएको आरोपमा पक्राउ गरिएको छ। यसका साथै, भीमदत्त नगरपालिका-६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको छ। उनीमाथि प्रयोगात्मक परीक्षामा अरूको नाममा फर्जी हाजिर गरी परीक्षा दिएको आरोप छ।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टका अनुसार उनीहरूले अन्य दुई जनाको हाजिर गरी परीक्षा दिएका थिए। प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको छ।

कार्यालय प्रमुख भट्टले पक्राउ परेका दुवै जनाले फर्जी हाजिरी गरेर परीक्षामा भाग लिएको बताए। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा दिइएको छ।

प्रहरी निरीक्षक जोशीले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। “पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ,” उनले भने, “अनुसन्धान सकिएपछि मात्रै उनीहरूलाई कुन शीर्षकमा मुद्दा लाग्छ, त्यसबारे निर्णय लिनेछौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *