बारपाक सुलिकोट गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई निःशुल्क शिक्षा

गोरखा, १६ फागुन । बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो क्षेत्रका अनाथ बालबालिकाका लागि आवासीय सुविधासहित निःशुल्क शिक्षाको व्यवस्था गरेको छ।

गाउँपालिकाले गाउँपालिका-६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई यो सुविधा प्रदान गरेको हो।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले चालु शैक्षिक सत्रदेखि नै पालिकाभित्र विद्यालय जान नपाएका अनाथ बालबालिकालाई निःशुल्क खान, बस्न र पढ्ने व्यवस्था गरिएको जानकारी दिए। हाल छात्रावासमा १९ जना अनाथ बालबालिका अध्ययनरत छन्, जसमा ९ छात्रा र १० छात्र छन्। उनीहरूलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष भट्टका अनुसार बालबालिकाका लागि आवश्यक पर्ने लत्ताकपडा, किताबकापी, कलम लगायतका सामग्रीहरू इच्छुक दाताहरूबाट सहयोग लिने गरिएको छ।

अनाथ बालबालिकाको शिक्षा र आवासका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको छ। छात्रावासमा दुई जना महिला कार्यालय सहयोगी, सुरक्षाकर्मी र एक जना निरीक्षकको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *