केपी ओली कपको उपाधि मछिन्द्रको पोल्टामा, आर्मी २-० ले पराजित

काठमाडौं, १९ फागुन । मछिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले हराउँदै तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ।

आज दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले आर्मीलाई पराजित गर्दै ह्याट्रिक गरेको हो।

पहिलो हाफमा १-० को अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप एक गोल गर्दै आर्मीलाई उपाधिबाट वञ्चित गर्‍यो। जितसँगै मछिन्द्रले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।

खेलको २९औँ मिनेटमा आर्मीका विमल पाण्डेले एन्ड्रेस नियाको पासलाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेपछि मछिन्द्रले अग्रता लिएको थियो। त्यसपछि खेलको ७२औँ मिनेटमा मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे।

यसअघि मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १-० र आयोजक केपी ओली एफसीलाई ४-० ले हराएको थियो। आर्मीले नेपाल पुलिस क्लबलाई २-० र संकटा क्लबलाई २-१ ले पराजित गरेको थियो।

मछिन्द्र र आर्मीबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथ दशरथ रंगशाला पुगेका थिए। इटालियन फुटबल टोलीका पूर्व कप्तान जियानलुइजी बुफोन पनि प्रमुख अतिथिको रूपमा उपस्थित थिए। रंगशाला दर्शकले भरिभराउ थियो र खेलअघि कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यो च्याम्पियनसिप फागुन ११ गतेदेखि सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *